नागरिकतामा उमेर सच्याउने ९० वर्षीय वृद्धलाई १० हजार जरिवाना

गोरखा, २९ जेठ । नागरिकता प्रमाणपत्रमा उमेर सच्याएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले ९० वर्षीय एक वृद्धलाई कारबाही गरेको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–७ का ९० वर्षीय छन्दप्रसाद पाण्डेले नागरिकतामा उल्लेखित आफ्नो जन्ममिति सच्याएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका हुन् ।
उनले भने, ‘उनको नागरिकता प्रमाणपत्रमा जन्ममिति १९९० उल्लेख भएको रहेछ । तर, उनले त्यसलाई केरमेट गरेर १९८३ बनाएका छन् । हामीले १० हजार जरिवाना गरायौँ । जन्म मिति सच्याएर राज्यकोषबाट के कति सुरक्षा भत्ता रकम लिए सो रकम सम्बन्धित पालिकाबाट असुल उपर गर्न भनेका छौँ ।’
जिल्ला प्रशासन कार्यालयले बारपाक सुलीकोट गाउँपालिकालाई पत्राचार गरी पाण्डेले नागरिकता सच्याएर राज्यकोषबाट कति रकम भत्ता लिए भन्ने विवरण मागेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


