वीरगञ्जमा मूख्य नाला सरसफाइ गर्ने क्रममा ठूलो परिमाणमा गोली बरामद

पर्सा, २८ जेठ । पर्साको वीरगञ्ज महानगरपालिकामा मूख्य नालाको सरसफाइ गर्ने क्रममा ठूलो परिमाणमा गोली बरामद भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० मा रहेको मूख्य नाला सफा गर्ने क्रममा आइतबार बिहान साढे ९ बजे शंकास्पद प्लास्टिकको झोला फेला परेको थियो ।
त्यसपछि सरसफाई कर्मचारीले तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले खबर प्राप्त हुनासाथ प्रहरी चौकी आदर्शनगरबाट प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।
उनले स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त प्लास्टिकको झोला खोलेर हेर्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउण्ड गोली फेला परेको बताए ।
हर्नेटको गोली १७ राउण्ड, एसएलआरको ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडेरलको ८ राउण्ड, विनचेस्टरको ५ राउण्ड, ७ एमएमको १ राउण्ड, बिग्रेको खोला ४ राउण्ड गोली बरामद भएको उनले जानकारी दिए ।
यसबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


