सर्लाहीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु, शव जलाउँदै गरेका ६ जना पक्राउ

सर्लाही, २७ जेठ । सर्लाहीको हरिपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान राजाराम साहको कुटाईबाट गम्भीर घाइते भएकी हरिपुर नगरपालिका–६ की इन्द्रकला देवीको शनिबार मृत्यु भएको हो ।
गत सोमबार राजारामले श्रीमती इन्द्रकलालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई तत्काल नवलपुरस्थित अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्काल वीरगञ्ज लगिएको आफन्तको भनाइ छ । तर, वीरगञ्जबाट पनि २३ गते नै घर ल्याएर राखेपछि इन्द्रकलाको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो ।
२४ गते उनलाई फेरि जनकपुरधाम ल्याइएको थियो । उपचारको क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेको भन्दै उपचार नगरी शनिबार बिहान जबर्जस्ती घर ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
यता प्रहरीले मृतक महिलाको शव आधा जलेको अवस्थामा चिताबाट निकालेर नियन्त्रणमा लिएको छ । कुटपिटबाट मृत्यु भएकी महिलाको शव गुपचुप जलाउँदै गरेको खबर पाएपछि हरिपुर ईलाकाबाट गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएर परीक्षणको लागि प्रदेशिक अस्पताल पठाएको हो ।
शव जलाउँदै गरेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा कसैलाई जानकारी नदिई शव जलाउन खोजेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
मृतककोे श्रीमान घटनालगत्तै फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


