महोत्तरी, २४ जेठ । महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित पञ्चवर्षिय संसारी माई महापूजा महोत्सवमा संस्कृति कार्यक्रमको नाममा आयोजकले टिकटकको माध्यमले समाजमा अश्लिलता फैलाईरहेकि नृत्यांगना प्रीती पासवानलाई अश्लिल गीतमा नृत्य गराएपछि स्थानिय युवाहरुले विरोध जनाएका छन ।

धार्मिक एवं आस्थाको केन्द्र मानिएको जलेश्वरमा महापूजा महोत्सवमा आयोजकले मनोरञ्जनात्मक कार्यक्रमको नाममा अश्लिलता देखाएपछि विरोध जनाएको स्थानिय युवाहरुले बताएका छन् ।

मेलामा संस्कृतिक कार्यक्रम गर्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट अनुमति पाएका समितिले प्रहरी प्रशासनको आड़मा यस्ता अश्लिल कार्यक्रम गरिएको स्थानियहरूको भनाइ छ ।

यता, जिल्लामा मेला महोत्सवमा ऑरकेस्ट्रा लगायत अश्लील कार्यक्रम पूर्णरूपले निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

समितिलाई मेलामा संस्कृतिक कार्यक्रम गर्न अनुमति दिएको र यस्ता गतिविधि सञ्चालन भए तत्कालै रोकिने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

मेलामा सुरक्षाको नाममा सयौं संख्यामा प्रहरी परिचालन गरिएको छ । विरोध गरेका युवाहरुले जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार लगायत व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख विरुद्ध मुर्दाबादको नारा लगाएका छन् ।