जनकपुरधाम, १६ जेठ । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरको सरसफाइ अभियानबाट सुरु भएको महागंगा आरतीको मंगलबार ९औं बार्षिकोत्सव मनाइएको छ ।

महागंगा आरतीको ९औं बार्षिकोत्सव सेभ द हिस्टोरिकल जनकपुरधामले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको हो ।

सो अवसरमा आइतबार गंगासागरको पोखरीको डिलमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको थियो भने मंगलबार बिहान सामूहिक गंगास्नान गरियो ।

त्यस्तै, साँझ भव्य रुपमा महागंगा आरतीको आयोजना गरिएको छ । सो क्रममा नियमति आरती गायन बाहेक कलाकारहरुको टोलीले सांस्कृतिक भजन सन्ध्याको समेत आयोजना गरिएको थियो ।

‘सेभ द हिस्टोरिकल’ जनकपुरधामको सक्रियतामा सुरु भएको महागंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । दिनहुँ आरती हेर्न भक्तजनहरुको भीड लाग्ने गरेको छ भने नेपालमै पहिलो पटक सुरु गरिएको महागंगा आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका अलावा छिमेकी भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेको सेभ द हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादवले बताए ।

जलको संरक्षण र प्रकृतिको पूजा गर्ने उद्देश्यले महागंगा आरतीको प्रारम्भ गरिएको बताउँदै सांसद यादवले भने्, ‘पोखरी नै पोखरीले भरेको जनकपुरधाममा पोखरीको संरक्षण सम्बद्र्धन बिना पर्यटकीय विकास सम्भव छैन त्यसैले दर्शनीय स्थलको रुपमा पोखरीको विकास गर्ने उद्देश्यसमेत रहेको छ ।’

धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको महागंगा आरती पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । गंगा सागरको किनारमा हरेक साँझ आयोजना हुने आरतीमा स्थानीयसँगै आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो हुन्छ ।

‘सेभ द हिस्टोरिकल जनकपुरधाम’ को पहलमा २५ जेठ २०७१ बाट सुरू भएको गंगा आरतीमा एकसाथ गंगा, जानकी र भगवान शिवको आराधना हुन्छ ।साँझपख करिब डेढ घन्टा गंगासागर तटमा आरतीको रौनक हुन्छ ।

तीनजना पण्डितले धार्मिक धुनका साथ आरती गर्छन् । ‘सेभ द हिस्टोरिकल जनकपुरधाम’ का अध्यक्ष तथा प्रदेशसभा सदस्य रामआशिष यादवका अनुसार भारत बनारसको आरतीबाट प्रभावित भएर गंगासागरमा पनि त्यस्तै आरती सुरू गरिएको हो ।