संकट मोचन विद्यालयका कम्प्यूटर शिक्षक झामाथि अभिभावक तथा विद्यार्थीले गरे हातपात

जनकपुरधाम, १४ जेठ । जनकपुरधामस्थित संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयका एक शिक्षकमाथि अभिभावक तथा विद्यार्थीले हातपात गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सो विद्यालयका कम्प्यूटर शिक्षक अखिलेश झामाथि अभिभावक तथा विद्यार्थीले कुटपिट गरेका हुन् ।
कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरुसँग विगतदेखि नै अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै अश्लील शब्दहरु प्रयोग गरेको भन्दै उनीमाथि कुटपिट गरिएको बताइएको छ ।
विद्यालयले करिब एक हप्ताअगाडि मर्निङ्ग कक्षा सञ्चालन गरेर फेरि ‘डे सिफ्ट’ मा परिवर्तन गरी विद्यार्थीलाई दुःख दिएको तथा यस्तो क्रियाकलाप प्रधानाध्यापक बलराम साहलगायत शिक्षकहरुले आफू अनुकूल हुनेगरि विगतदेखि नै पटक पटक गर्दै आएको विद्यार्थीको गुनासो छ ।
विद्यार्थीहरुले यो समस्या विगतदेखि नै भोग्दै आएपनि प्रधानाध्यापकलगायत शिक्षकहरुले कुनै सुनुवाई नगरि मनोमानी गर्दै आएको आरोप लगाएका छन् ।
त्यस्तै, कक्षा ८,९, १० का विद्यार्थीहरुले शिक्षक अखिलेशमाथि अभद्र व्यवहार गरेको आरोपसमेत लगाएका छन् । उनीहरुले शिक्षक झा कक्षामा आएर छात्राहरुसँग अश्लील शब्द प्रयोग गर्ने गरेको, यौनजन्य क्रियाकलाप गर्न खोजेको, अभद्र व्यवहार प्रदर्शन गरेकोलगायतका आरोपहरु लगाएका छन् । यस विषयमा प्रधानाध्यापककोमा गुनासो गर्न जाँदा कुटाईसमेत खानुपरेको उनीहरुको दुःखेसो छ ।
एकजना अभिभावकले भने, ‘हामी यिनै विषयहरुलाई लिएर आइतबार गुनासो गर्न विद्यालयमा पुगेका थियौं । तर, प्रधानाध्यापक बलराम साहले आफूहरुलाई समय दिन मान्नुभएन । हामीले धेरै प्रयास गरेपछि उहाँले हामीलाई १२ बजेको समय दिनुभयो । हामी ५/६ जना अभिभावक सोही समयमा त्यहाँ पुगेर प्रधानाध्यापक साहसँग कुराकानी गरिरहेका थियौं । छात्राहरु शिक्षक अखिलेश झामाथि आक्रोश पोखिरहेका थिए । हामीले उहाँलाई पनि बोलाएर छलफल गर्न आग्रह गर्यौं । उहाँ आएपछि छलफल चलिरहेको थियो । त्यसैक्रममा अचानक आक्रोशित भीडले उहाँमाथि हातपात गर्न थाल्यो ।’
कुटाईबाट शिक्षक झाको मुखमा गम्भीर चोट लाग्नुका साथै नाथ्री फुटेर रगत बगेको छ । विद्यार्थीहरुले यसअघि गत बिहीबार र शुक्रबार पनि विद्यालयबाहिर प्रदर्शन गरेका थिए ।
यता, यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक बलराम साहले विद्यार्थीहरुले कसैको उक्साहटमा आएर शिक्षकमाथि हातपात गरेको बताएका छन् । उनले आफ्नो विद्यालयका विद्यार्थीहरु त्यस्तो अनुशासनहीन नरहेको दाबी गर्दै अन्य कसैको उक्साहटमा आएर बाहिरी तत्वले यस्तो घटना घटाएको जिकिर गरे ।
यसैबीच, धनुषा प्रहरीले अभिभावकहरुको उजुरीका आधारमा विद्यालयका शिक्षकद्वय अरुणकुमार कर्ण र अखिलेश झालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रदर्शनको क्रममा विद्यार्थीहरुले तोडफोड गरेपछि विद्यालयमा करिब १ लाख ६ हजार बराबरको क्षति पुगेको डीएसपी गौतमले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


