जनकपुरधाम, १३ जेठ । ग्रीन स्पेस नेपालको अगुवाइमा ५१औं विश्व वातावरण दिवस २०८० मनाउने सन्दर्भमा सरोकारवालाहरूसँग समन्वय बैठक सम्पन्न भएको छ ।

ग्रीन स्पेसको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग विश्व वातावरण दिवस मनाउने सन्दर्भमा बृहत् बैठक सम्पन्न भएको हो ।

आगामी जेठ २२ गतेका दिन विश्व वातावरण दिवस मनाउनका लागि तीन दिवसीय कार्यक्रमहरू सञ्चालन गर्न ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिले जेठ १५ गतेसम्म विस्तृत योजनासहितको जानकारी दिने ग्रीन स्पेसका अध्यक्ष धिरज साहले बताए ।

ग्रीन स्पेसका अध्यक्ष धिरज साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वातावरण संरक्षण र हरियाली एवं सुन्दर नगरी निर्माणमा यस्त संस्थाहरूको महत्त्वपूर्ण भुमिका रहेको बताए ।

उनले विश्व वातावरण दिवस भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरूलाईसमेत आग्रह गरे । साथै उनले जनकपुरधामलाई प्लाष्टिकमुक्त शहर बनाउनका लागि सबैजनालाई हातेमालो गर्न आग्रहसमेत गरे । प्रमुख जिल्ला अधिकारी दाहालले जनकपुरधामबासीलाई प्लाष्टिकको बदला कपडाको झोला प्रयोग गर्न आग्रह गरे ।

विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिने ग्रीन स्पेसका अध्यक्ष धिरज साहले बताए । उनले भने, ‘स्वच्छ वातावरण हाम्रो अधिकार हो । र, वातावरणलाई संरक्षण गर्नका लागि हामी सबैले एकजुट भएर काम गर्नुपर्दछ ।’

बैठकमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायत सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिती रहेको थियो ।