जनकपुरधाम, १३ जेठ । चोरी तस्करी तथा लागूऔषध एवम् मदिराको ओसारपोसार नियन्त्रणका लागि दुई देशका सुरक्षा अधिकारीहरुबीच बृहत् छलफल सम्पन्न भएको छ ।

नेपालको सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सीतामढी जिल्लाका पदाधिकारी तथा सम्बद्ध अधिकारीहरुबीच शनिबार भारतको सितामढीमा संयुक्त सीमा समन्वय बैठक सम्पन्न भएको हो ।

बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण, लागूऔषध तथा मदिराको ओसारपोसार नियन्त्रण, सूचना आदानप्रदान, अवैध मुद्राको कारोबार नियन्त्रण तथा सुरक्षा संवेदनशीलताको विषयमा बृहत् छलफल भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको नेतृत्वमा सर्लाही र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी, महोत्तरी तथा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् तीनवटै जिल्लाका नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक र तीनवटै जिल्लाका भन्सार कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बैठकमा भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्लाधिकारीको नेतृत्वमा पुलीस अधीक्षक, भन्सार प्रमुख तथा एसएसबीका अधिकारीहरुको उपस्थिति रहेको थियो ।