महोत्तरी, १३ जेठ । महोत्तरीको गौशालामा सवारी दुर्घटनामा परेका एक युवकको प्रादेशिक अस्पताल जनकपुरले उपचार गर्न नमानेको घटना बाहिरिएको छ ।

शनिबार बिहान महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर–३ मा परिचय खुल्न नसकेका एक युवक दुर्घटनामा परेपछि उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो ।

दुर्घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गौशालाको टोली दुर्घटनास्थल पुगेर ति युवकलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र गौशालामा भर्ना गराएको थियो । त्यहाँ उनकोे उपचार सम्भव नहुँदा उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको थियो ।

तर, घटना महोत्तरीको हो भन्दै प्रादेशिक अस्पताल प्रसाशनले २ घण्टासम्म छटपटाइ रहेका ति बिरामीलाई भर्ना नगरेपछि प्रहरीले अन्ततः उनलाई जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गराएको थियो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले घाइतेको उपचार अहिले जलेश्वरमा भइरहेको जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरले भर्ना नगरी लापरवाही र अमानवीय व्यवहार प्रदर्शन गरेको भन्दै आलोचना भइरहेको छ ।

यस सम्बन्धमा अस्पताल प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन ।