चोरीको ३५ किलो चाँदीसहित तीनजना पक्राउ

विराटनगर, ११ जेठ । मोरङ प्रहरीले चोरीको ३५ किलो चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार राति १ बजे ३५ किलो चाँदी र ८ ग्राम सुनसहित विराटनगर महानगरपालिका–१२ का २१ वर्षीय राजकुमार कामत, सोही स्थानका १९ वर्षीय विवेक कामत र २२ वर्षीया श्रीकान्त दासलाई पक्राउ गरेको हो ।
उनीहरुलाई बुधबार राति १ बजे भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर–१२ कोशी प्रोजेक्टबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।
जेठ ३ गते जयकिशोर चौधरीको घरबाट ३६ किलो चाँदी र २० तोला चाँदी चोरी भएको उजुरी परेको थियो ।
सुनचाँदी पसलको सामान घरमा राखेको अवस्थामा चोरी भएको थियो । चोरी भएको भनिएको २० तोला सुन र ३६ किलो चाँदी मध्ये ३५ किलो चाँदी र ८ ग्राम सुन बरामद भएको उनले बताए ।
चोरीको सुन भारतमा लगेर ७ लाखमा बिक्री गरेको पाइएको प्रहरी बताएको छ ।
चोरीपछि चोरी गर्ने गिरोहका सदस्य तीन दिन होटलमा बसेर भारत तर्फ जादै गरेको अवस्थामा पक्राउ परेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
प्रहरीका अनुसार विवेक कामत यसअघि चोरी मुद्दामा ९ महिना र दास डाका मुद्दामा २० महिना कैद सजायपछि छुटेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


