धनुषा प्रहरीद्वारा २७ जना चोर सार्वजनिक, अधिकांश १५ देखि ३३ वर्ष उमेर समूहका युवा

जनकपुरधाम, १० जेठ । धनुषा प्रहरीले २७ जना चोरलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
जिल्लामा चोरीको घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न स्थान र मितिमा पक्राउ परेका आरोपितहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमाथि खानेपानीको कल चोरीदेखि मोटरसाइकल तथा गरगहना चोरीको आरोप छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेका चोरहरुमध्ये अधिकांश १५ देखि ३३ वर्षसम्मको उमेर समूहका युवाहरु छन् ।
पक्राउ पर्नेहरुमा बलिराम मण्डल, शुशिल पंजियार, सुनिल मुखिया, मुकेश साह, दिवेन्द्र मण्डल, रितेश गुप्ता, रंजित दास, नविन कुमार यादव, सोनु कुमार सहनी, राज कुमार यादव, संजिव राम, ईन्दल राम, नारायण साह, साजन मुखिया, सलमान मंसुर, ऐलुन खान, गुड्डु महतो, राम प्रवेश महतो, मुकेश गुप्ता, मणि शंकर यादव, सौरव यादव, राम गणेश साह, अजय मण्डल, कुन्दन गुप्ता, बिमलेश कुमार महासेठ, उमेश दास र शुभम कुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले लागूऔषध सेवनकर्ता, रोजगारीको कमी, हाईफाई लाईफ र खर्चिलो तथा भडकिलो जीवन शैली, महंगा गाडी, मोटरसाइकल, ब्राण्डेड समान लगाउने लोभमा सजिलो अर्थोआर्जनको माध्यम बनाएर साथी संगतको कुलतका कारण उनीहरुले चोरी गर्नेगरेको बताए ।

पक्राउ परेकाहरुले चोरी गर्नका लागि घरमा नरहेको तथा सिसिटिभीको निगरानीबाट टाढा रहेको घरहरुलाई टार्गेट गरेर चोरी गर्नेगरेको पाइएको हो ।
यस्तै, सरकारी कार्यालय, अस्पताल, बिबाहस्थल लगायतका ठाउँहरुमा पार्किङ्ग गरेर राखिएको मोटरसाइकलहरु चोरी हुने गरेकोमा प्रहरीले विशेष सुरक्षा योजना बनाई खटेपछि उनीहरुलाई पक्राउ गरेको डीएसपी गौतमले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्ममा ९७ जना चोर पक्राउ परेका छन् ।
यस्तै चोरीमा पक्राउ परेपछि पीडितले जाहेरी दिन नमानेपछि पक्राउ परेका ४ सय जनामाथि अभद्र व्यवहार शिर्षकमा मुद्दामा चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


