रौतहटस्थित माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको ९ लाख रुपैयाँ गायब

रौतहट, ८ जेठ । रौतहटको चन्द्रनिगापुरस्थित माछापुच्छ्रे बैंकको शाखाबाट सेवाग्राहीको ९ लाख रुपैयाँ गायब भएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका–३ बस्ने रामेश्वर राय यादव आइतबार चेक साट्न जाँदा उनको खाताबाट ९ लाख रुपैयाँ गायब भएको पत्ता लागेको हो । उनले आफ्नो खातामा ३ दिन अघिमात्र १२ लाख २० हजार रकम जम्मा गरेको बताए ।
उनले बिहीबार बिहान आफैं बैंकमा पुगेर १२ लाख २० हजार रुपैयाँ जम्मा गरेको बताए । खातामा पैसा जम्मा भएको म्यासेज मोबाइलमा शुक्रबार अपराह्न ३ बजे आएको यादवले जानकारी दिए ।
आइतबार फेरी कार्यालय समयमा ८ लाखको चेक लिएर बैंकमा साट्न जाँदा खाताबाट ९ लाख रुपैयाँ गायब भएको बैंकका कर्मचारीले बताएपछि आफू चकित भएको यादवको गुनासो छ ।
बैंकका शाखा प्रमुख रामजी दाससँग खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्दा उनले ह्याकरले पैसा लगेको हुनसक्ने जवाफ दिए ।पैसा हराउँदासमेत बैंकले बेवास्ता गरेको भन्दै स्थानीय तथा आफन्तले बैंकमा जम्मा भएर होहल्ला समेत गरेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान थालेको छ । सेवाग्राही यादवको खाताबाट तीनवटा नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको देखिन्छ ।
उनको खाताको रकम सिटिजन्स र सानिमा बैंकमा ट्रान्सफर भएको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुरका प्रमुख दासले बताए ।
यता इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


