रौतहटमा छुरा प्रहार गरी छिमेकीको हत्या गरेर फरार आरोपी पक्राउ

रौतहट, ८ जेठ । रौतहटमा छुरा प्रहार गरी छिमेकीको हत्या गरेर फरार भएका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या गरी फरार भएका स्थानीय शेख कवीरलाई प्रहरीले तिन दिनभित्रै पक्राउ गरेको हो ।
पुरानो रिसिइबीका कारण गत शुक्रवार राति करिब साढे १० बजे खानको पेट र छातीमा छुरा प्रहार गरी फरार भएका कवीरलाई गौरको रामजानकी मन्दिर छेउबाट प्रहरी पक्राउ गरेको थियो ।
कवीरउपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थमाई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका खानलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे खबर गर्नासाथ प्रहरी टोली घटनास्थलमा पुगे पनि त्यस अघि नै आरोपी फरार भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


