रौतहट, ७ जेठ । सशस्त्र प्रहरीले रौतहटबाट ढुंगामुनी लुकाएर लगिरहेको सालको गोलिया काठसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–३ गैडाटारबाट लोड गरेर वडा नम्बर–१० बालचनपुर लगिरहेको अवस्थामा ना ४ त ८३६६ नम्बरको ट्याक्टर सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

बालचनपुरका चिरानमिल सञ्चालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गामुनी लुकाएर ट्याक्टरमा लोड गरेर लगिरहेको सूचनाको आधारमा सन्तपुरस्थित सशस्त्र बेसक्याम्पको टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद काठसहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक चन्द्रपुर–१० का २३ वर्षीय फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको थियो ।

बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्याक्टर र चालक नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमूख सुनील कर्णले जानकारी दिए ।