जनकपुरधाम, ६ जेठ । सरकारले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने घोषणा गरेको अवसरमा जानकी मन्दिरमा दीप प्रज्जवलन गरिएको छ ।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने सरकारको घोषणा जनकपुरधामबासीका लागि सुखद समाचार रहेको भन्दै शनिबार साँझ मन्दिरमा प्रांगनमा सयौंको सहभागिताकाबीच दीप प्रज्जवलन गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने घोषणा गरेको थियो ।

राष्ट्रपति पौडेलले कपिलवस्तुको तिलौराकोट र जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरिने बताए ।

उनले पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्त्वका सबै प्रकारका अभिलेखहरूको आधुनिक प्रविधिबाट संरक्षण गरिने नीतिसमेत सरकारले लिएको जानकारी दिए ।

सरकारले राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्नुका साथै नेपाली सांस्कृतिक सम्पदाहरूको अध्ययन¸ अनुसन्धान¸ संरक्षण,संवर्द्धन एवं पुस्तान्तरण गरी जीवन्तता दिने उल्लेख गरे । ऐतिहासिक पुरातात्त्विक स्थलहरूको अन्वेषण, उत्खनन र संरक्षण कार्यलाई निरन्तरता दिइने उनले बताए ।

सरकारले पशुपति तथा लुम्बिनीलाई धार्मिक¸आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रको रूपमा विकास, संरक्षण र प्रवर्द्धन गर्ने बताइरहँदा जानकी मन्दिरलाई भने विश्व सम्पदा सूचीमा समावेश गर्ने घोषणा गरेको हो ।