मिथिलाञ्चलमा आज बटसावित्री पर्व मनाइँदै (तस्बिरहरु)

जनकपुरधाम, ५ जेठ । मिथिलाञ्चलका महिलाले आज पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख सम्बृद्धिका लागि बटसावित्री (बरसाइत) पर्व मनाउँदै छन् ।
जेठ कृष्णपक्ष आमावश्या तिथीका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । आज बिहानै नुहाइ रातो, पहेंलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर (बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् ।
उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ ।
शुक्रबार बिहानैदेखि जनकपुरधाम तथा ग्रामिणभेगमा रहेको वरको रुखमुनि पुजाअर्चना गर्ने नवविवाहिता महिलाहरुको भीड लागेको छ । बट सावित्री पर्व मनाउँदा मनको इच्छा पुरासँगै पतिको आयु बढ्ने जनविश्वास रहि आएको छ ।
धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको वास हुने भएकोले वरको रुखको पुजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् ।
केही वर्षअघिसम्म यो पर्व व्रम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँद अएकोमा अहिले अन्य समुदायका महिलाहरु पनि मनाउँने गर्दछन् ।
नवविवाहिता महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन पनि छ ।कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो लगायतका सामग्री पठाइन्छ ।
अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने भएको र वरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पुजा गर्ने चलन बसेको बुद्धिजिवीहरुको भनाई छ ।
नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा ससुराल (श्रीमानको घर) मै मनाउनुपर्छ ।नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि लुगादेखि चुरासम्मका सबै शृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।
हेर्नुहोस् तस्बिरहरु :



































तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


