जनकपुरधाम, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनकपुरधाममा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।

राप्रपा जनकपुरधाम नगर समितिले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने भन्दै स्थानीय जनकचोकमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले व्यापक भ्रष्टाचारले देशलाई विनाशतर्फ लगेकोमा चिन्ता व्यक्त गर्दै हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा समेत नारावाजी गरेका थिए ।

शिवनाथ साहको अध्यक्षतामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचारी मुर्दावाद भन्दै चर्काे नारावाजीसमेत गरेका थिए ।
उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन’ लगायतका माग गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमात्रै नभएर अहिलेसम्मका सबै भ्रष्टाचारका फाइल खोलेर निष्पक्ष छानबिन गरी कारबाही गरिनु पर्ने प्रदर्शनमा सहभागीहरुले माग गरे ।

’नक्कली भुटानी शरणार्थी प्रकरणलाई मात्रै देखाएर अरू भ्रष्टाचारका मुद्दाहरू ओझेल पारिँदैछ,’ साहले भने, ’अहिलेसम्म सार्वजनिक भएका भ्रष्टाचारका दोषीहरूलाई यसरी नै जनतासामु नांगेझार बनाउनु पर्छ ।’