जनकपुरधाम, ३ जेठ । धनुषामा घरेलु हिंसाका घटनामा बृद्धि भइरहेको देखिएको छ । जिल्लामा कतै श्रीमानले श्रीमतिलाई त कतै देवरले भाउजुलाई कुटपिट गर्दै आएको घटनाका दर्जनौं उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा परेका छन् । पछिल्लो पटक जिल्लाको विदेह नगरपालिकामा भाउजुले देवरलाई कुटपिट गर्दा जनकपुरधाममा जेठाजुले भाईबुहारीमाथि जर्बजस्ती करणीको प्रयास गर्दै छुरासमेत प्रहार गरेको घटना बाहिरिएको छ ।

बुधबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ लादोबेलामा २६ वर्षीया सफिना खातुनलाई उनका जेठाजु नातामा पर्ने पप्पु साफिले जर्बजस्ती करणीको प्रयास गर्दै छुरा प्रहार गरेको आरोप लगाइएको छ । सफिनाका पति टिपु सुल्तान भने वैदेशिक रोजगारीको क्रममा विगत ४ वर्षदेखि मलेशियामा छन् ।

टिपु र सफिनाको बिहे भएको १२ वर्ष पुगिसकेको छ । उनीहरुका चार सन्तान पनि छन् । तर, टिपु मलेशिया गएपछि घरपरिवार र छोराछोरीसँग कुनै मतलव नराखी आमा र दाईको कुरा मात्र सुनेको भरमा सफिनाको चरित्रमाथि नै सवाल उठाउने गरेका छन् ।

सोही क्रममा विगतदेखि नै उनको घरमा आन्तरिक कलह हुँदै आइरहेको छ ।बुधबार पनि श्रीमानले आफूसहित छोराछोरीलाई खान लाउन नदिएको र परिवारका अन्य सदस्यको लहैलहैमा लागेर आफूहरुमाथि हिंसा गरेको भन्दै सफिना जिरोमाइलस्थित प्रहरी चौकी पुगेकी थिइन् । उनीसँगै उनका जेठाजु पप्पु र सासुआमा पनि त्यहाँ गएका थिए ।

प्रहरीले घरायसी विवादलाई आपसमै सुल्झाउन र सहमतिमै बस्न सुझाब दिँदा पप्पु कसैको कुरा नै नसुनी त्यहाँबाट उठेर घर गए । पछि सफिना पनि घर पुगिन । घर गएको केहीबेरमै आपसी विवाद पुनः सुरु भयो । सफिना आफ्नो कोठामा जान लाग्दा पप्पुले उनलाई घिसारेर कोठामा बन्द गरी जर्बजस्ती गर्ने प्रयास गरेको र उनले प्रतिकार गर्दा शरीरको लुगा च्यातेर निर्घात कुटपिट गर्दै छुरासमेत प्रहार गरेको सफिनाका भाइ सद्दाम हुसैनले सुनाए ।

सफिनामाथि उनकी सासुआमा र जेठाजु मिलेर मरनासन्न हुनेगरि कुटपिट गरेको सद्दामले बताए । सफिनाका पति टिपु पनि आफ्नो दाई र आमाको उक्साहटमा आएर विदेशबाटै फोनमार्फत मानसिक तनाव र गालीगलौज गर्दै उनको चरित्रमाथि पनि लाञ्छना लगाउँदै आएको उनको गुनासो छ ।

यता, प्रादेशिक अस्पतालमा उपचाररत सफिनाले टिपुसँग आफ्नो बिवाह भएको १२ वर्ष बितिसक्दा पनि उनलै कहिल्यै आफूलाई पत्नीसरह व्यवहार र माया नगरेको सुनाइन् । उनले आफ्नो श्रीमानको अर्कै स्थानिय महिलासँग अफेयर रहेको आरोपसमेत लगाइन् ।

सफिनामाथि कुटपिट गर्ने उनका जेठाजु पप्पुलाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिरोमाइल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन् ।

उता, धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ बेलापट्टिमा पनि स्थानीय बेचु मण्डलकी श्रीमती ३० वर्षीया रिंकु कुमारी मण्डलले आफ्नो देवर राजकुमार मण्डलमाथि घरायसी विवादकै कारण मंगलबार राति छुरा प्रहार गरेको घटना बाहिरिएको छ ।

अंश हक सम्बन्धी आपसी विवाद हुँदा रिंकुले राजकुमारमाथी पछाडिबाटै ज्यान मार्ने उद्देश्यले घाँटीमा ठूलो छुरा प्रहार गरेको आरोप लगाइएको छ । रिंकुको छुरा प्रहारबाट गम्भीर घाइते भएका राजकुमार हाल जिवन मरणको दोसाँधमा छन् । उनको जनकपुरधामस्थित मेड नेपाल अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा धनुषामा मात्रै कुटपिट, खानलाउन नदिएको, घरनिकाला, पुरुषपीडित, धाकधम्की, दाइजो सम्बन्धी कसुर, गालीगलौजलगायतका ८३५ वटा सामाजिक हिंसाका घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।