साउन महिनाभित्र ई–रिक्साहरु उपमहानगरको मातहतमा दर्ता गर्न आह्वान

जनकपुरधाम, २ जेठ । जनकपुरधाममा ई–रिक्साको स्थायी व्यवस्थापनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।
मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको पहलमा बसेको बैठकले आगामी साउन महिनाभित्र नगरभित्रका सम्पूर्ण ई–रिक्सालाई उपमहानगरको मातहतमा बिधिवत दर्ता गर्न आह्वान गरिएको हो ।
बैठकले यस अवधिभित्र दर रेट निर्धारण, रूट निर्धारण, पार्किङ्ग निर्धारण, संख्या निर्धारण लगायतका सम्पूर्ण तयारी चुस्त बनाई साउन महिनादेखी पूर्ण व्यवस्थित गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका बरिष्ठ कर अधिकृत परमेश झाले जानकारी दिए ।
विद्युतिय रिक्सा दर्ता, अनुमति, नवीकरण तथा नियमण कार्यविधि २०७९ अनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन गरि चाँडै यसको व्यवस्थापन तर्फ लागिने झाले बताए ।
राम्रो आम्दानी र सहज सञ्चालन गर्न सकिने हुँदा जनकपुरधाममा ई–रिक्सा किनेर सञ्चालन गर्ने होडवाजी नै चलेको देखिन्छ ।
यहाँ अहिले ई–रिक्साका कारण सर्वसाधारणहरु समस्यामा पर्दै आएका छन् । एकै परिवारका एक भन्दा बढि व्यक्ति ई–रिक्सा किनेर आम्दानी गरिरहेका छन । तर, अत्यधिक संख्यामा ई–रिक्सा सञ्चालनमा आएपछि बजार नै ढाक्न थालेको छ भने ट्राफिक व्यवस्थापनमा समेत चुनौती बढ्दै गएको छ ।

जनकपुरधाममा २०७१ सालदेखि ई–रिक्सा सञ्चालन गर्ने शुरुवात गरिएकोमा सुरुमा ५० वटालाई मात्रै दर्ता गरिएको थियो । त्यसपछि उपमहानगरभित्र ६४२ थान ई–रिक्सा मात्रै सञ्चालन गर्ने भनी निर्णय गरेर सोही संख्यामा दर्ता पनि दिइयो ।
अहिले भने दर्ता भन्दा बढि विना दर्ताको सञ्चालन गर्नेको संख्या अत्यधिक देखिन्छ ।
जनकपुरधाम उपमहानगरपालिकाले दर्ता गरेको भएपनि यातायाता व्यवस्था कार्यालयले रुट परमिट दिने गरेको छ । तर, रुट मरमिटको आधारमा भने अहिलेसम्म कुनैपनि ई–रिक्सा सञ्चालनमा आएको देखिँदैन । निकै पुरानो र थोत्रो भईसक्दा समेत सञ्चालनमा आइरहेकाले सर्वसाधारणलाई आफ्नो व्यक्तिगत सवारी सञ्चालनमा समेत समस्या आउने गरेको देखिन्छ ।
जनकपुरधाम उपमहानगरपालिकाले सुरु देखिनै ई–रिक्साहरुलाई विना कुनै योजना दर्ता गरेकोले अहिले आएर टाउको दुःखाई बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


