जनकपुरधाम, २ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक सुरक्षा सप्ताहको दोस्रो दिन विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक सेचतना सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

सातौं अन्तर्राष्ट्रिय सडक सुरक्षा सप्ताह कार्यक्रमअन्तर्गत दोस्रो दिन मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र मातहतका कार्यालय/पोष्टहरुले विभिन्न विद्यालयहरुमा अध्ययनरत छात्र/छात्रालाई ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएको हो ।

उच्च मा.वि. मुलावारी धारापानीका कक्षा १०, डेफोडिल्स ईङलिश बोर्डिङ्ग स्कुल हनुमाननगरका कक्षा ९, एडभान्स एकेडेमी धनुषाधामका कक्षा ५ र ६, जनता उच्च मावि लक्ष्मिनियाका कक्षा १०, महेन्द्र मावि ढल्केवरका कक्षा १०, सरस्वती मावि सवैलाका कक्षा ८,९ र १०, सर्वोदय ईङलिश बोर्डिङ्ग स्कुल जनकपुरधामका कक्षा ८,९ र १०, श्री सेकेण्ड्री स्कुल सोहनी मुजेलियाका कक्षा ९ र १०, सरस्वती मावि जनकपुरधामका कक्षा ९ र १०, जानकी मावि रामानन्द चोकका कक्षा ८,९ र १० र हिमालय ईङ्लिश वोर्डिङ्ग स्कुल जनकपुरधामका कक्षा ९ र १० गरी कूल ११ वटा विद्यालयहरुमा अध्ययनरत १ हजार २१० जना छात्र/छात्राहरुलाई ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय ढल्केवरले ढल्केवर चोकमा, ट्राफिक प्रहरी पोष्ट मुजेलियाले जनकपुरधाम–१४ मुजेलिया चोकमा, ट्राफिक प्रहरी पोष्ट धनुषाधामले धनुषाधाम नगरपालिका–३ धनुषाधाम चोकमा, ट्राफिक प्रहरी पोष्ट सवैलाले सवैला नगरपालिका–८ ठिला चोकमा र ट्राफिक प्रहरी पोष्ट कपिलेश्वरले जनकपुरधाम–१६ कदमचोकमा चालक– सहचालक, यात्रु, सर्वसाधारण तथा विद्यार्थीहरुलाई सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियम पालना सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजनासमेत गरिएको उनले बताए ।

सडक सुरक्षा सप्ताहअन्तर्गत १ हजार थान पर्चा पम्पलेट वितरण गर्नुका साथै सवारी साधनहरुमा ४५० थान रिफ्लेक्टिभ स्टिकरसमेत टांस गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

सोमबारदेखि सुरु भएको सडक सुरक्षा सप्ताहको तेस्रो दिन बुधबार जथाभावी बाटो काट्ने, हेल्मेटको बेल्ट नलगाउने, ट्राफिक नियमको पालना नगर्ने लगायतका विषयहरुमा मुख्य मुख्य चोकहरुमा सचेतना कार्यक्रमको आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।