जनकपुरधाम, २८ बैशाख । जनकपुरधामस्थित साविकको भानुचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण गर्नुपर्ने माग गर्दै जानकी मन्दिर र हिन्दूवादी संघसंगठनहरुले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दाससहित आधा दर्जन हिन्दूवादी संघसंगठनका प्रतिनिधिहरुले बिहीबार नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

रामायणको धार्मिक आध्यात्मिक तथ्यलाई घरघरसम्म पुर्याउने आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण कार्यमा अवरोध गर्नेहरु हिन्दू विरोधी रहेको ज्ञापन पत्रमार्फत आरोप लगाइएको छ ।

उनीहरुले शालिक पुनर्निर्माण कार्यमा अवरोध गर्ने तत्वहरुलाई कानूनी दायरामा ल्याउनसमेत माग गरेका छन् । माता सीताको महिमालाई मौलिक भाषाको माध्यमबाट प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिनेप्रति अपमानजनक क्रियाकलापले आहतमा पारेको भन्दै जनमानसको भावनालाई बुझेर यथाशीघ्र भानुभक्तको शालिक निर्माण गर्न नगरप्रमुख साहसँग आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख साहले चाँडै भानुभक्तको शालिक निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले शालिक निर्माण कार्य स्थगित भएको हल्लाको पछाडि नलाग्न हिन्दूवादी संगठनका प्रतिनिधिहरुसँग आग्रहसमेत गरे ।

यसअघि विभिन्न ११ विद्यार्थी संगठहरुले पनि जनकपुरधाममा आदिकवि भानुभक्त आचार्यको शालिक निमार्ण गर्नुपर्ने माग गर्दै मंगलबार नगरप्रमुख साहलाई ज्ञापन पत्र बुझाएका थिए ।

२०६३ साल अगाडि साविकको भानुचोकमा भानुभक्त आचार्यको शालिक थियो । तर, मधेश आन्दोलनताका आन्दोलनकारीहरुले उक्त शालिक भत्काएर चोकको नाम ‘शहिद रमेश महतो चोक’ नामकरण गरेका थिए ।