पर्सा, २८ बैशाख । चुरे तथा वनजंगल संरक्षण अभियानका अभियानीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सिरसिया नदीलाई प्रदुषण, अपहरणमुक्त गराउन र भूमिहिनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलनअन्तर्गत बिहीबार उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

अभियानि बबिता यादवको अगुवाईमा वीरगञ्जको घण्टाघरबाट निस्केको जुलुस सिरसिया नदीलाई प्रदुषण मुक्त गर, सिरसिया नदीलाई अपहरणमुक्त गरलगायतका नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए ।

पहिलो चरणको कार्यक्रम सम्पन्न भएसँगै दोस्रो चरणको आन्दोलनका कार्यक्रम केही दिनमै घोषणा गरिने चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले जानकारी दिए ।

सार्वजनिक जग्गा उद्योगपतिहरुले उद्योगको नाममा अतिक्रमण गरेको संयोजक यादवले बताए । उनले सिरसिया नदीलाई प्रदुषण गर्नुको साथै स्वास्थ्यसँग खेलवाड गर्ने काम उद्योगहरुले गरिरहेकाले यो अभियान सुरु गरिएको बताए ।

उनले आफूहरुले सम्बन्धित निकायलाई यसअघि विभिन्न चरणमा ज्ञापनपत्र बुझाएपनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर विरोध प्रदर्शन गरेको जानकारी दिए ।

उनले आफूहरुको माग यथाशीघ्र पूरा नभए काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।