जनकपुरधामस्थित एक घरमा चोरी गरेर भाग्दै गरेका चोर सामानसहित पक्राउ

जनकपुरधाम, २७ बैशाख । धनुषा प्रहरीले चोरी गरेर भाग्दै गरेका एक चोरलाई सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वर बस्ने ३५ वर्षीय रञ्जित दास रहेका छन् ।
बुधबार दिउँसो करिब साढे ४ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्हीस्थित बेचु साहको घरमा प्रवेश गरेर दराजको ताला तोडी सामानहरु चोरी गरेर भाग्ने क्रममा स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ परेका दासले साहको घरबाट सुनको जस्तो देखिने मंगलसुत्र २ थान, सुनको जस्तो देखिने जन्तर १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, चाँदीको जस्तो देखिने बिछिया ८ थान, चाँदीको गिलास र चम्चा १/१ थान र चाँदीको जस्तो देखिने ब्रासलेट १ थान चोरी गरेर भागिरहेका थिए ।
प्रदेश–२–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकलमा सवार भई भागिरहेको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको डीएसपी गौतमले बताए ।
पक्राउ परेका दासलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीले मंगलबार मात्रै विगत केही दिन यतादेखि जनकपुरधामसहित आसपासको क्षेत्रमा चोरीको घटनामा व्यापक वृद्धि हुँदै गएपछि विशेष सतर्कता अपनाउन सर्वसाधारणहरुलाई आग्रह गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार एक सूचना जारी गर्दै ठूलो परिमाणमा नगद वा गरगहनाहरु घरमा नराखि सुरक्षित स्थान (बैंक वा लकर)मा राख्न, टोल वा घर वरपर शंकास्पद रुपमा मान्छे हिंडडुल गरेको देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरी जानकारी गराउन हुन आग्रह गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


