वडा कार्यालयको घरभाडा माग्दा वडाध्यक्ष कर्णले धाकधम्की दिने गरेको आरोप

जनकपुरधाम, २५ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षसँग वडा कार्यालयको घरभाडा माग्दा धाकधम्की दिने गरेको आरोप लगाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष मिथिलेश कर्णले वडा कार्यालय सञ्चालनमा रहेको घरको भाडा माग्दा उल्टै धाकधम्की दिने गरेको आरोप लगाइएको हो ।
स्थानीय राजदेवी यूवा कमिटीका अध्यक्ष प्रदिप मण्डलले कमिटीको भवनमा सञ्चालित वडा कार्यालयको घरभाडा वडाध्यक्ष कर्णले विगत ५ वर्षदेखि उपलब्ध नगराएको र माग्न जाँदा आलटाल गरी धाकधम्कीसमेत दिने गरेको आरोप लगाएका छन् ।
उनले भने, ‘वडा कार्यालयले ५ वर्षदेखि पूरानो घरभाडाको बक्यौता रकम तिरेको छैन, जबरजस्ती ठाउँ ओगटेको छ । भाडा माग गर्दा वडाध्यक्ष उल्टै हामीलाई नै धाकधम्की दिन्छन् ।’
उनले वडा कार्यालयले वडाका विभिन्न स्थानमा जडान गरेको सिसिटिभी क्यामेराको विजुली बिल पनि कमिटीले नै तिरिरहेको र यस सम्बन्धमा वडाध्यक्ष कर्णसँग गुनासो गर्दा कुनै सुनुवाई नगरेको बताए ।
कमिटीका अध्यक्ष मण्डलले वडाध्यक्ष कर्णले वडाको बजेट पनि हिनामिना गरिरहेको र वडामा कुनै काम गर्नुपर्दा कसैसँग राय सुझाब नै नलिई एकलौटी ढंगले बजेट पनि सञ्चालन गर्नुका साथै योजनाहरुमा मनोमानी गरिरहेको आरोप लगाएका छन् ।
यता, यस सम्बन्धमा वडाध्यक्ष कर्णले कमिटीका पदाधिकारीहरु परिवर्तन भइरहँदा वडालाई पनि समस्या हुने गरेको सुनाए । आफूले विगतको घरभाडाका लागि उपमहानगरसँग कमिटीको सम्झौतासमेत गराईदिएको उनले बताए ।
उनले भने, ‘मैले नै पटकपटक कमिटीका पदाधिकारीलाई घरभाडावापतको रकम लग्न भनिरहँदा कसैले सुनुवाई गरेनन् । मलाई अन्य कामहरु पनि गर्नुपर्ने हुन्छ । एउटै कामका लागि समय बर्बाद गर्न सक्दिन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


