नेपाली नागरिकता लिएका १० भारतीय नागरिक पक्राउ

काठमाडौं, २४ बैशाख । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट १० जनालाई पक्राउ गर्न सफल भएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको बताए ।
उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको बताए ।
उनले भारतीयहरुले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको बताए ।
उनले पक्राउ पर्नेमा भारत बिहार घरभई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको बताए ।
त्यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता रहेको बताए ।
एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौंको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । उनले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको बताए ।
उनले भारतीयहरुले वंशजको आधारमा नै नागरिकता दिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गर्दै आएको भेटिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


