जनकपुरधाममा पोखरीमा डुबेर एकै घरका जुम्ल्याहा बालकको मृत्यु

जनकपुरधाम, २३ बैशाख । जनकपुरधाममा पोखरीमा डुबेर एकै घरका जुम्ल्याहा बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अंसारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अंसारी र मोहमद अब्दुल अंसारी रहेका छन् ।
शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नम्बर–२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुबै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
बालकहरू पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो ।
चिकित्सकले जाँच गरिरहेको क्रममा राति ८ बजे दुबै बालकको मृत्यु भएको डीएसपी गौतमले बताए । मृतक बालकद्वयको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


