सप्तरी, २३ बैशाख । सप्तरीमा छात्रावासको तेस्रो तल्लाबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–७ बस्ने ९ वर्षीय मोहम्मद ममताज रहेका छन् ।

राजविराज नगरपालिका–७ स्थित प्यारागन विद्यालयको तेस्रो तल्लाबाट लडेर कक्षा २ मा अध्ययनरत छात्र ममताजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गत वैशाख १२ गते मात्र सो विद्यालयमा भर्ना भएका बालक ममताज दुई दिनपछि पैतालामा घाउ भएर अभिभावकसँग आफ्नो घर गएका थिए । वैशाख २१ गते बिहीबार साढे १२ बजे मात्र छात्रावास आएका उनी साँझ ५ बजेर ३९ मिनेटमा छतबाट लडेका थिए ।

छात्रावासमा ट्युसन पढिरहेका बेला एउटा शिक्षकको पालो समाप्त भएको र त्यसपछि विद्यालयमा प्रिन्सिपल उमाकान्त साहले ट्युसन कक्षा लिने तयारी थियो । तर, साह ट्युसन कक्षामा पुग्न केही मिनेट ढिलाइ भएको खाली समयमा विद्यार्थीलाई हेर्ने कोही नभएपछि विद्यालयको तेस्रो तल्लाको छतमा गएका बालक ममताज त्यहाँबाट लडेका थिए ।

त्यो तल्लामा रेलिङ नहुँदा तल हेर्ने क्रममा बालक लडेको हुन सक्ने अनुमान गरिएको छ । तेस्रो तल्लाबाट लडेपछि बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याइएको केहीबेरमै मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उनले घटनाबारे अनुसन्धान भइरहेकोसमेत बताएका छन् ।