जनकपुरधाम, २२ बैशाख । धनुषा प्रहरीले साढे १० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–३ बस्ने ३१ वर्षीय फेकन साह, सोही ठाउँ बस्ने २१ वर्षीय संतोष दास, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ बस्ने २६ वर्षीय अमित कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय रबिन कुमार यादव रहेका छन् ।

शुक्रबार बिहान साढे १० बजे धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१० लालगढस्थित बौवा होटल अगाडि पूर्वपश्चिम लोकमार्गबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध ब्यूरो जनकपुरधामबाट खटिएको संयुक्त टोलिले उनीहरुलाई पक्राउ गरेको डीएसपी गौतमले बताए ।

विषेश सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०३–००७प ८५४१ र ज ४ प ७७३३ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।