काठमाडौं, २१ बैशाख । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ ।

टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोशाकमै तास खेलिरहेको तस्बिर सार्वजनिक भएको हो ।

कार्यालय समयमा तास खेल्नेहरुमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ रहेका छन् । तास खेलिरहेका उनीहरुको तस्बिर बुधबार दिउँसोको रहेको महानगरपालिका स्रोतले जनाएको छ ।

कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिका स्रोतले जनाएको छ ।

एक नगर प्रहरी अधिकारीले भने, ‘तास खेलिरहेको तस्वीर हामीले पनि देख्यौं, अहिले अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएका छौं । अन्य पनि संलग्न भएको पाइएमा उनीहरूलाई पनि कारबाही हुन्छ ।’