मकवानपुर, २० बैशाख । मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा ५११ किलो ९ सय ग्राम गाँजासहित दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उत्तमको घरबाट ६ बोरामा प्याक गरिएको १८४ किलो १ सय ग्राम र राधाकृष्णको घरबाट १२ बोरामा प्याक गरिएको ३२७ किलो ८ सय ग्राम गरी कूल ५११ किलो ९ सय ग्राम गाँजा बरामद गरी घरधनीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उत्तमको घरबाट नगद ५५ हजार ३६५ रुपैयाँ पनि बरामद गरेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।