काठमाडौं, १९ बैशाख । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको छ ।

मंगलबारको खेलमा यूईएले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएरपुरा गरेको हो ।

नेपालका लागि गुल्शन झाले ८४ बलमा अविजित ६७ रन बनाए भने भीम सार्की ७२ बलमा ३६ रन बनाएर नटआउट रहे ।

सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।

मंगलबार त्यहीँबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी रहेको एक विकेट गुमाएको थियो ।

च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।