बारा, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा आधारभूत अस्पताल उद्घाटनका क्रममा उत्पन्न विवादले उग्ररूप लिएपछि स्वास्थ्य चौकीको मुख्य भवनमा घेरिएका प्रहरी निरीक्षकसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ ।

शनिबार बिहानदेखि स्वास्थ्य चौकीको मुख्य भवनमा थुनिएका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बाराको पहलमा झन्डै दुई घण्टापछि सुरक्षित रूपमा बाहिर निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार घटनापछि स्वास्थ्य चौकीको मुख्य भवनभित्र इन्स्पेक्टरसहित केही निजामती कर्मचारीसमेत रहेका थिए । बाहिरको अवस्था तनावपूर्ण बनेपछि उनीहरू भवनभित्रै घेरिन पुगेका थिए ।

बिहान करिब साढे १० बजेदेखि भवनभित्र थुनिएका कर्मचारीलाई झन्डै दुई घण्टापछि सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

शनिबार बिहान फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उनको विपक्षी समूहबीच विवाद भएको थियो । विवाद चर्किँदै गएपछि स्थिति नियन्त्रणबाहिर पुगेको थियो ।

सोही क्रममा स्थानीय युवक आदित्य पासवानलाई गोली लागेको बताइएको छ । घटनाले उग्ररूप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।

घटनापछि स्वास्थ्य चौकी परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । सोही क्रममा भवनभित्र रहेका सरकारी कर्मचारी तथा प्रहरीसमेत प्रभावित भएका थिए ।