मानवसेवा आश्रम जनकपुरका लागि जग्गा उपलब्ध गराउन पहल गर्छु : नेता निधि

-बरूणा कर्ण
जनकपुरधाम, १८ बैशाख । प्रतिनिधि सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधामस्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गरेका छन् ।
केहीदिन अघि काठमाडौंमा भएको स्नेहमिलनको क्रममा उनले मानवसेवा आश्रम जनकपुरधामको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएअनुरूप सोमबार त्यहाँ पुगेका थिए ।
अवलोकन भ्रमणको क्रममा मानवसेवा आश्रम भाडाको घरबाट सञ्चालन गर्न सम्भव नहुने महसुस गरि पूर्वउपप्रधानमन्त्री निधिले आश्रमका लागि जग्गा उपलब्ध गराउन आफूले हरसम्भव पहल गर्ने प्रतिबद्धता जनाए ।
मानवसेवा आश्रमले देशव्यापीरूपमा गरिरहेको सेवाबारे जानकारी लिँदै उनले यस अभियानमा आफ्नो पूर्ण अभिभावकत्व रहने विश्वाससमेत दिलाए ।
आश्रममा बस्ने असहायहरूलाई आफ्नै हातले सोमबार बिहानको खाना हस्तान्तरण गर्दै नेता निधिले राज्यस्तरबाट हुनुपर्ने सेवा मानवसेवा आश्रमले गरिरहेको बताउँदै राज्यले यस आश्रमलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सोहिक्रममा आश्रमले एक अभिभावक प्राप्त गरेको अनूभुति अभियान्ताहरूले पनि गरेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, नगराइन नगरपालिका प्रमुख विपिन कुमार यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्ल, अनुसन्धान प्रहरी उपरीक्षक दिपक खड्कालगायत ४० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।
गत वर्ष जेठ १४ जते जनकपुरधाममा १८ औं जिल्ला शाखाको रुपमा सञ्चालित यस आश्रममा हाल ४८ जनाले सेवा लिइरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


