अनुगमनका क्रममा जनकपुरधामका थप दुईवटा निजी विद्यालय दर्ताबिना सञ्चालनमा रहेको पाइयो

जनकपुरधाम, १८ बैशाख । जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्रका दर्ताबिना तथा नियम विपरित सञ्चालनमा रहेका निजी विद्यालयहरुको अनुगमनका क्रममा थप दुईवटा निजी विद्यालय दर्ताबिना सञ्चालनमा रहेको पाइएको छ ।
संस्थागत विद्यालय संरक्षण समितिले सोमबार गरेको अनुगमनका क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ कटैयाचौरीमा सञ्चालनमा रहेको संस्कार इङ्गलिश एकेडमी धनुषा र वडा नम्बर–१२ मा रहेको ज्ञान गंगा इन्टरनेशनल पब्लिक स्कुल दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको हो ।
वडा नम्बर–४ स्थित संस्कार इङ्गलिश एकेडमीका सञ्चालक काशिम साफीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–३ मा प्राथमिक तह सम्म सञ्चालनका लागि २०७३ साल असार ३० गते अनुमती पाएको विद्यालय प्रिन्स एकेडमी धनुषा खरिद गरी नाम परिवर्तन गरेर सञ्चालन गरेको बताए ।
२०७१ सालदेखि सरकारले नयाँ विद्यालयको अनुमती नदिएको अवस्थामा तत्कालिन जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलले फर्जी काम गरी अनुमती दिएको पाइएको छ ।

विद्यालयका सञ्चालक साफी आफैं सामुदायिक विद्यालयका शिक्षक छन् । २०७३ असार ३० गते शिक्षा कार्यालयबाट अनुमती लिई २०७३ पुस २८ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा संस्कार इङ्गलिश एकेडमी धनुषा दर्ता भए पाइएको छ । कक्षा ६ सम्म प्रिन्स एकेडमीको नाउँमा अनुमती पाएका विद्यालय संस्कार इङ्गलिश एकेडमी धनुषाको नाउँमा कक्षा ७ सम्म पढाईरहेको पाइएको थियो ।
त्यस्तै, जनकपुरधाम–१२ कुवा बजारमा दर्ताबिना सञ्चालित ज्ञान गंगा इंटरनेशनल पब्लिक स्कुलले नर्सरीदेखि कक्षा १० सम्मको वोर्ड लगाएर बिद्यार्थी पढाइरहेको पाइएको थियो । विद्यालय दर्ताको एउटा पनि कागजात नभएको ज्ञान गंगा इंटरनेशनल पब्लिक स्कुल कक्षा ६ सम्म सञ्चालन भएको पाइएको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयमा ज्ञान गंगा आइ.पि.एस. एण्ड ट्रेनिङ्ग सेन्टरको नाउँमा दर्ता भई विद्यालय सञ्चालन भइरहेको छ ।
अनुगमनमा रहेको संस्थागत विद्यालय संरक्षण समितिका संयोजक अवधेश तिवारीले प्लेग्रुपसम्म पनि अनुमती नपाएका ज्ञानगंगा ईन्टरनेशनल पब्लिक स्कुल भ्रामक प्रचार गरी कक्षा १० सम्मको बोर्ड लगाएर विद्यालय सञ्चालन गरिरहेकोले तत्काल बन्द गर्न प्रशासनसँग माग गरेको बताए । अनुगमनका क्रममा जनकपुरधाम उमहानगरपालिकाका शिक्षा समिति सदस्य रविन्द्र चौधरीले बजारभित्र केहि विद्यालय फर्जी रहेकाले आफुहरुले अनुगमन गरिरहेको बताए ।
उनले अनुगमनका क्रममा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको कुनै पनि कागजात नपाइएकाले तत्काल बन्द गर्न निर्देशन दिएको बताए । यस विषयमा सो विद्यालयका सञ्चालक पवन कुमार साहले आफूले पटक पटक दर्ताको लागि निवेदन दिँदा पनि उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले अनुमती नदिँदा बाध्य भएर कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराई सञ्चालन गरिरहेको बताए ।
अनुगमनका क्रममा नियमित रुपमा सञ्चालनमा रहि दर्ताबिना सञ्चालनमा रहेको विद्यालय, अनुमति पाएको भन्दा बढी कक्षासम्म विद्यालय सञ्चालन गरेको, विना टिसी विद्यार्थी भर्ना गरेका तथा सामुदायिक विद्यालयमा नाम दर्ता भएका विद्यार्थीलाई पढाइरहेको संस्थागत विद्यालयहरुलाई कारबाही प्रक्रियामा जाने संयोजक तिवारीले जानकारी दिए ।
अनुगमनमा समितिका सह–संयोजकद्वय रविन्द्र चौधरी र सुजित कुमार मिश्र, प्याब्सन धनुषाका पूर्वअध्यक्ष विश्वलाल सिंह, आशिष झा, डिएन पाण्डे, डिके चौधरी, दिपक ठाकुर, अमन यादव, शिव कुमार राउत लगायतका संस्थागत विद्यालयका सञ्चालकहरुको सहभागिता रहेको थियो ।

समितिले सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकारी बिदा भएपनि सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुलाई बन्द गराएको थियो । संस्थागत विद्यालयहरुको सामुहिक निर्णय अनुसार सबै बिद्यालयमा एकरुपता कायम गर्न बिद्यालय बन्दको लागि क्यालेन्टर बनाइएको छ । उक्त क्यालेन्डर अनुसार एकरुपताका साथ विद्यालय सञ्चालन गर्न निर्णय अुनसार नै अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा संस्कार इङ्गलिश एकेडमी धनुषा, ज्ञानगंगा ईन्टरनेशनल पब्लिक स्कुल, ग्यालेक्सी इङ्गलिश स्कुल, भद्रकाली इङ्गलिश स्कुल, गोदावरी इङ्गलिश स्कुल, मर्निङ ग्लोरी इङ्गलिश स्कुल लगायतका केहि विद्यालयहरु सञ्चालनमा रहेका थिए ।
समितिले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शिक्षकहरुलाई समेत सम्मान सहति बिदा दिनुपर्ने भएकाले विद्यालय बन्द गराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


