काठमाडौं, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

१३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ठूला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठूला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताएका हुन् ।

हिजो कौडीका भाउमा ठूला उद्योग बन्द गराएर मुलुकको अर्थतन्त्रलाई टाट पल्टाइएको उनको भनाइ थियो । वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाएसरहको सुविधा पाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताए ।

देश अप्ठ्यारो स्थितिमा रहेको भन्दै उनले देशलाई अप्ठ्यारो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्ने धारणा राखे । श्रमिक, किसान, मजदुर, चिकित्सक, प्राध्यापक, इन्जिनियर भए पनि देश कहिले अगाडि र कहिले पछाडि सर्ने गरेको अध्यक्ष ओलीको भनाइ छ ।