जनकपुर बम काण्डको ११ वर्ष : शहीद शरणको छोरीको विवाहमा सहयोग गर्न अपील

जनकपुरधाम, १८ बैशाख । आज बैशाख १८ गते । आजकै दिन मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकाहरूमाथि बम प्रहार गरिएको थियो । सो घटनाको आज ११ वर्ष पुगेको छ ।
मिथिला राज्य संघर्ष समितिको अगुवाइमा २०६९ साल बैशाख १८ गते भइरहेको शान्तिपूर्ण धर्नाको क्रममा धर्नास्थलमा बम प्रहार हुँदा मिथिला नाट्यकला परिषद्का कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र विमल शरणको ज्यान गएको थियो । बम बिष्फोटमा परेर अन्य दुई दर्जन व्यक्ति घाइते भएका थिए ।
बम काण्डमा मारिएका शहीदहरूको सम्झनामा सोमबार स्थानीय रामानन्द चोकमा मिथिला शहीद दिवस मनाइएको छ । मिथिला राज्य संघर्ष समितिले श्रद्धाञ्जली सभाको आयोजना गरी मिथिला शहीद दिवस मनाएको हो ।
श्रद्धाञ्जली सभामा मिथिला राज्य प्राप्तिका लागि तत्कालिन मिथिला राज्य संघर्ष समितिद्वारा २०६९ सालमा गरिएको शान्तिपूर्ण आन्दोलनमा शहादत प्राप्त गरेका शहीद रञ्जु झा, सुरेश उपाध्याय, विमल शरण, दीपेन्द्र दास र झगरू मण्डलप्रति सहभागीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बम विष्फोटका बेला धर्नामा सहभागी तत्कालिन मिथिला राज्य संघर्ष समितिका सदस्य जीवनाथ चौधरीले यस्तो विस्फोट हुन्छ भन्ने कुराको आफूहरुले कल्पनासमेत नगरेको बताए ।
बम विष्फोटमा परी ज्यान गुमाउनेहरूलाई सरकारले शहीद घोषणा गरिसक्दा सो विष्फोट गराउने मुख्य योजनाकार पूर्वराज्यमन्त्री सञ्जय साहसहित ७ जनाले जन्मकैदको सजाय पाए । जिल्ला अदालत धनुषाले साहसहित ७ जनालाई जन्मकैदको फैसला सुनायो ।
शहीद शरणको छोरीको विवाहमा सहयोग गर्न अपील
यसैबिच, तत्कालिन मिथिला राज्य संघर्ष समितिको नेतृत्वमा मिथिला राज्यको माग गर्दै आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरूको पूण्यतिथिको दिनलाई स्मरण गर्दै श्रद्धासुमन अर्पित गरी पुनः ठग्ने काम सम्पन्न भएको आरोप लगाइएको छ ।
युवा अभियन्ता सरोज मिश्रले मिथिला मैथिलीको नामले वर्षौंदेखि ठग्दै, लुट्दै आइरहेका दर्जनौं संघसंस्थाका पदाधिकारीहरूले वर्षमा एकदिन शहीदहरूलाई क्षणिक याद गर्नु कुनै अलौकिक कुरा नभएको आरोप लगाए ।
उनले भने, ‘जुन अभियान र राज्यको मागसहित आन्दोलनमा शहादत प्राप्त गरी आफ्नो घरपरिवार र सन्तानलाई अनाथ बनाई परलोक गइसकेका मृतआत्माको घरपरिवारको अवस्था बुझ्ने पात्रहरू आजसम्म कहिल्यै देखा परेनन् । वर्षमा एकदिन केहीबेरका लागि श्रद्धाञ्जली सभा मनाउनेहरू धेरै भेटिन्छन् । चाहे त्यो मिथिला आन्दोलनका शहीदका लागि होस् अथवा मधेस आन्दोलनको शहीदका लागि । यो सबैको पछाडि लोभ, निहित स्वार्थ, विभिन्न नाम र मुद्दाको रूपमा चलिरहेको व्यापार अमुख छ ।’

‘हामी सबैजना पापी छौं र हामी आफ्नो दायित्व एवम् कर्तव्यबाट पञ्छिरहेका छौं, उनले भने, ‘यदि हामीले प्रयास गर्यौं भने यस पापको केही अंश कट्ने समय आउन सक्छ ।’
‘बैशाख २९ गते मिथिलाका शहीद विमल शरणकी छोरीको विवाह तय गरिएको छ । उनको विवाहमा करीब ५ लाख रूपैयाँ खर्च लाग्ने न्यूनतम अनुमान गरिएको छ । शहीद शरणका परिवार निरीह छन् । तर, छोरी विवाह पनि उत्तिकै आवश्यक छ । शहीद शरणको आत्माले शान्ति तबमात्र पाउन सक्छ जब यथार्थ रूपमा सहयोगी हातहरूले उनको छोरीको विवाह गराउन सक्लान् । हामी सबै मिलि यस पुण्य काममा सहभागी बनौं, ‘उनले भने ।
उनले आग्रह गर्दै भने, ‘म सबैजनसँग हात जोडेर बिन्ती गर्छु, शहीद विमल शरणकी छोरीको विवाहमा हामी सबै मिलेर सहयोग गरौं । छोरी सबैको घरमा हुन्छन् । छोरीको सम्मान हामी सबैको दायित्व हो । छोरी समाजको मान प्रतिष्ठा हुन्छन् र त्यसमाथि झन शहीद परिवारकी छोरी । यो दायित्व निर्वाह गरी केही पाप कटाएर पुण्यको भागीदार बनौं ।’
मधेश आन्दोलनका शहीद परिवारहरूलाई सरकारद्वारा केही राहत प्रदान गरिएपनि मिथिला आन्दोलनका शहीद परिवारहरू अहिलेसम्म आहतको शिकार मात्र रहेको आरोप छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


