जनकपुरधाम, १८ बैशाख । मधेस प्रदेशमा १० हजार घरपरिवारका लागि रोजगारीको व्यवस्था गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले संघीय सरकारसँग सहयोग मागेका छन् ।

मन्त्री कुशवाहाले संघीय सरकारलाई एक पत्र लेख्दै १० हजार घरपरिवारका लागि रोजगारीको व्यवस्था गर्न संघ सरकारसँग आग्रह गरेका हुन् ।

आर्थिक बर्ष २०८०/८१ को बजेटमा संघीय सर्शत अनुदानका लागि झण्डै ७ अर्ब रुपैयाँ बराबरको कार्यक्रम संघीय कृषि मन्त्रालय अन्तर्गत समावेश गर्न परियोजनाको बिवरणसहित उनले मन्त्रालयमा बुझाएका हुन् ।

बजेट सिलिंगका कारण कतिपय कार्यक्रम प्रदेश सरकारको कृषि मन्त्रालयबाट सम्भव नरहेको भन्दै उनले संघीय सरकारको कृषि मन्त्रालयलाई गुहार लगाएका छन् ।

कृषी मन्त्री डा. बेदुराम भुसाललाई बुझाइएको विवरणमा कृषकलाई वडा स्तरमा गणस्तरीय कृषि उत्पादन (मल, बिउ, सिचाइँ) लगायत अत्यावश्यक सामग्रीहरुको उपलब्धता, कस्टम हाइरिङ सेन्टरमार्फत कृषि यान्त्रिकरण प्रवर्धन, जिल्ला स्तरमा कृषि इन्जिनियरको विशेष प्राविधिक सेवा प्रदान, उत्पादित कृषि उपजहरुको पालिका तथा प्रादेशिक स्तरमा बजार व्यवस्थापन गरी आन्तरिक वितरणमा विस्तार, आयात प्रतिस्थापनमा सहयोग, बजार र मूल्यको सुनिश्चितता, सामाजिक र आर्थिक क्षेत्रको विकास गरी अर्थतन्त्र चलायमान गरी ग्रामिण क्षेत्रमा १० हजार परिवारभन्दा बढीको रोजगारी सिर्जनको उद्धेश्य पुरा गर्नका लागि कृषिमन्त्री भुसालमार्फत मन्त्री कुशवाहाले पत्र पठाएका हुन् ।

पत्रमा निजी तथा सहकायरी क्षेत्रहरुसँगको सहकार्यमा एक वडा एक प्रांगारिक वा जैविक मल उद्योग सञ्चालन, पालिका स्तरका साना कृषि बजार स्थापना तथा सञ्चालन, प्रत्येक निर्वाचन क्षेत्रमा कोल्ड स्टोर सुविधा सहित ठूला कृषि बजार स्थापना तथा सञ्चालन, जिल्लामा भेटेरिनरि एम्बुलेन्स सेवा सञ्चालन, निजी तथा सहकारी क्षेत्रहरुसँगको सहकार्यमा पालिका स्तरीय कस्टम हायरिंङ सेन्टर स्थापना तथा सञ्चालन, उष्ण प्रदेशीय वागवानी नर्सरी केन्द्रमा टिस्यु कल्चर ल्याब स्थापना सञ्चालन तथा सेवा विस्तार लगायतका कार्यक्रमहरु उल्लेख गरिएका छन् ।