जनकपुरधाम, १८ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरीको चाङ देखिएको छ ।

अख्तियारको तथ्याङ्कअनुसार गतवर्ष उजुरी परेकामध्ये स्थानीय तहका ३३ दशमलव १ प्रतिशत भ्रष्टाचारसँग सम्बन्धित छन् । त्यसमध्ये २४ दशमलव २५ प्रतिशत मधेश प्रदेशका जिल्लाहरुबाट छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अख्तियारको बर्दिबास कार्यालयमा ९३३ वटा उजुरी परेका छन् ।

यस्तै, गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९५३ सहित अहिले १ हजार ८८६ मुद्दाको कार्यालयले अनुसन्धान गरिरहेको छ ।

धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सिन्धुली, रामेछाप, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा गरी ९ जिल्ला हेर्ने सो कार्यालयमा सबैभन्दा बढी धनुषाबाट ३६० र सबैभन्दा कम रामेछापबाट ९ वटा उजुरी परेका छन् ।

यस्तै, सिरहाबाट २५१, महोत्तरीबाट १६३, सर्लाहीबाट १७५, सिन्धुलीबाट ४८ सिन्धुली, रामेछाप र खोटाङबाट ३२, ओखलढुङ्गाबाट २७ र सोलुखुम्बुबाट १६ वटा उजुरी परेको छ ।