जानकी नवमी : जनकपुरधाममा विशेष रौनक, नगरभरी भव्य दीपोत्सव

जनकपुरधाम, १६ बैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जानकी नवमी पर्व शनिबार श्रद्धा भक्तिपूर्वक मनाइएको छ ।
त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।

भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

सीता उत्पत्ति भएको यस दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । जगत जननी माता जानकी प्रकट भएको स्मरणमा जनकपुरधाममा भने जानकी नवमी धुमधामका साथ मनाइएको छ । मिथिलाको राजधानी जनकपुरधाममा विशेष रौनक देखियो ।
करिव एक सातादेखि यहाँका मन्दिरहरूमा विभिन्न धार्मिक अनुष्ठान जारी रहेपनि शनिबार बैशाख शुक्ल नवमीका दिन भने बेग्लै चहलपहल र रौनक देखियो । तत्कालिन मिथिलाका राजा राजर्षि जनक राज्यमा खडेरी परेपछि किसानहरुको हौसला बढाउन र वर्षाका लागि ईन्द्रदेवलाई आग्रह गर्न स्वयम खेतमा हलो जोतिरहेको अवस्थामा यसै दिन माता जानकी धर्तीबाट प्रकट भएको स्मरणमा जानकी नवमीलाई जानकी जन्मोत्सवको रुपमा श्रद्धाभक्तीपूर्वक मनाइन्छ ।

जनकपुरधामको हरेक सिताराम मन्दिरमा धार्मिक र श्रद्धाभक्तीको माहोल रहेपनि जानकी मन्दिरमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ । शनिबार बिहान ऐतिहासिक दुधमती नदीमा शाही स्नानको कार्यक्रम सम्पन्न भएपछि जानकी मन्दिरमा प्राकट्य महोत्सव, वेलुकी डोला शोभायात्रा, साँझ जानकी मन्दिरमा सवा लाख दीप बालेर भव्य दीपोत्सव र राती बधैयागान सहितका विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।
जानकी नवमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले विज्ञप्ती जारी गरि मन्दिरका साथै जनकपुरधाम, मिथिलाञ्चल मात्र नभई विश्वका सम्पुर्ण हिन्दुधर्मावलम्वीलाई साँझ दिपोत्सव गर्न आग्रह गरेको थियो । यस अवसरमा हिन्दु धर्मका अभियानी संघ संस्थाहरुले जनकपुरधाममा धार्मिक रयाली निकाल्दै हिन्दुराष्ट्रको माग गरेका छन् ।

दिवसको अवसरमा विश्व हिन्दु परिषद नेपाल धनुषाले जानकी मन्दिर प्राङ्गणमा अलौकिक कन्या पुजन एवं सम्मान समारोहको आयोजना गरेको छ । परिषद धनुषाका अध्यक्ष सन्तोष कुमार साहले विगत पाँच वर्ष देखि निरन्तर कन्या पुजन हुदै आएकोमा यस वर्ष ३ सय १ कन्याको पुजन भएको बताए ।
अयोध्या त्याग गरेपनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको पाइन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


