सर्लाहीमा एकसय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण

सर्लाही, १६ बैशाख । सर्लाहीमा एकसय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिकाका वडा नम्बर–३ र वडा नम्बर–११ का एकसय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
उनीहरुले वर्षौंदेखि भोगचलन गर्दै आएको सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।
उनले करिब १५० जनाको लालपुर्जा बनेकोमा पहिलो चरणमा एकसय परिवारलाई लालपुर्जा वितरण गरिएको बताए ।
नगर प्रमुख आचार्यले वडा नम्बर–१० का गाउँब्लकवासीलाई पनि छिट्टै लालपुर्जा वितरण गरिने र भूमिहीनको लगत संकलनका क्रममा विवरण लिइएका नगरभित्रका ७ हजार २ सय घरधुरीलाई समेत लालपुर्जा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए ।
नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थितिमा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


