मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले जनकपुरधाममा कार्यालय स्थापना गरी कार्यसञ्चालन गर्दै

जनकपुरधाम, १४ बैशाख । मिटर ब्याज पीडितको माग सम्बोधनका लागि गठन गरिएको जाँचबुझ आयोगले जनकपुरधाममा कार्यालय स्थापना गरी कार्यसञ्चालन गर्न लागेको छ ।
आयोगले प्रारम्भिक काम सुरु गरिसकेको र बैशाख १७ गतेदेखि जनकपुरधाममा कार्यालय स्थापना गरी कार्यसञ्चालन गर्न लागेको हो ।
सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
कार्यालय स्थापना भएसँगै मिटर ब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरुको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।
निवेदन वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको छ ।
उनले पीडितहरुले आफूसँग उपलब्ध रहेका सवुद प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको उनले बताए । सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध हुने पनि उनले जानकारी दिए ।
निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


