मुलुकको शिक्षा प्रणालीमा सुधार आवश्यक : कांग्रेस नेता निधि

जनकपुरधाम, ६ बैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मुलुकको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति धनुषाले ५४औँ स्थापन दिवसको अवसरमा बुधबार जनकपुरधाममा आयोजना गरेको ‘शिक्षा प्रणालीमा सुधार’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको आसनबाट नेता निधिले यस्तो धारणा राखेका हुन् ।
उनले शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैं अग्रसर हुनुपर्नेमा जोड दिए । नेता निधिले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने जिकिर गरे ।
उनले दश जोड दुईसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । निधिले आजकल नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्नेमा जोड दिए ।
नेता निधिले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना भएको ५४ वर्ष पूरा भएको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी स्थापनाको स्वर्ण जयन्ती मनाइएको हो ।
विसं २०२७ साल वैशाख ६ गते काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


