जनकपुरधाम, ६ बैशाख । महोत्तरीको बलवा नगरपालिकाका कर्मचारीहरुले कामकाज ठप्प गरेका छन् ।

उपप्रमुख रामदुलारी देवी ठाकुरले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि गरेको हातपातको विरोधमा कर्मचारीहरु कामकाज ठप्प गरेका हुन् ।

गत बैशाख ४ गते दिउँसो साढे १ बजे कार्यालय समयका दौरान आसमान नेपालका कर्मचारीसँग भइरहेको बैठकमा उपप्रमुख ठाकुरले आफ्नो व्यक्तिगत स्वार्थलाई विषय बनाई आफूसँगै अन्य चारजना व्यक्तिहरु सहित बैठकमा गई आफ्नो पदीय मर्यादा र सीमालाई उल्लंघन गर्दै प्रमुख प्रशासकीय अधिकृत ठाकुरमाथि गरेको दुर्व्यवहार, गालीगलौज, हातपातको घटनाप्रति कर्मचारीहरुले भर्त्सना गर्दै विरोधमा जनाएका छन् ।

कर्मचारीहरुले नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु (अत्यावश्यक सेवा बाहेक) बन्द गरिएको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

राष्ट्रसेवक कर्मचारीमाथि यस्ता घटना पटक–पटक नघटोस् र काम गर्ने सहज वातावरणको निर्माण होस् भन्ने उद्देश्यका साथ उपप्रमुख ठाकुर र अन्य संलग्न व्यक्तिहरुमाथि हदैसम्मको कानुनी कारवाही नहुन्जेलसम्मका लागि कर्मचारीको आन्दोलन जारी रहने विज्ञप्तीमा उल्लेख छ ।

बलवा नगरपालिका वडा नम्बर–७ बनौटामा निर्माण भइरहेको सडकको काम आफूसँग नसोधि रोकेको भन्दै उपमेयर ठाकुरले प्रमुख प्रशासकीय अधिकृत ठाकुरमाथि कार्यकक्षमै हातपात गरेको बताइएको छ ।