सबैला नगरपालिकाको प्रशासनीक भवन निर्माणमा बिनाकारण लाखौं खर्च

जनकपुरधाम, ३ बैशाख । धनुषाको सबैला नगरपालिकाले प्रशासनीक भवन निर्माणका लागि भन्दै बिनाकारण लाखौं रकम खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७८/७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
सबैला नगरपालिकाले प्रिफ्याब डिजाइनमा प्रशासनिक भवन निर्माण गर्न २०७८ असार १५ गतेसम्म सम्पन्न गर्ने गरी ४ करोड ५५ लाख ३५ हजार रुपैयाँमा एक निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । तर, त्यस अवधिमा काम सुरुसमेत नगरी ६४ लाख १ हजार भुक्तानी गरेको देखिन्छ ।
पर्याप्त कारण बेगर निर्माण व्यवसायीको निवेदनको आधारमा नगरपालिकाले फेरि २०७९ असार ३० गतेसम्मको म्याद थप गरेपनि काम सुरु भएको पाइएको छैन ।
उक्त कामको स्थलगत अनुगमन गर्दा ५२ थान एम.एस.ब्लेड जडान गरिएको, केही स्थानमा नट बोल्ट नलगाई वेल्डिङ्ग गरिएको, केही ब्लेडहरुमा खिया लागेको लगायतका त्रुटिपूर्ण अवस्थामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
२ करोड ९१ लाखबढि मूल्य अभिवृद्धिको रकम असुल्न बाँकी
मूल्य अभिवृद्धि कर मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १५ मा नदीजन्य पदार्थ बिक्रीको आय ठेक्कामा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने व्यवस्था छ ।
नदीजन्य पदार्थ बिक्रीको आय ठेक्का दिएकोमा क्षिरेश्वर नगरपालिका धनुषाले ९ आय ठेक्कबाट ३३ लाख ६४ हजार, गणेशमान चारनाथ नगरपालिकाले २३ लाख १८ हजार, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ्गले एक निर्माण व्यवसायीबाट ४८ लाख ७८ हजार, निजगढ नगरपालिका बाराले दुई ठेकेदारबाट१ करोड ८५ लाख ५५ हजारसमेत गरी कूल २ करोड ९१ लाख १५ हजार मूल्य अभिवृद्धि रकम असुल नगरेकोले प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र कर्जन्हा नगरपालिका सिरहाको सिमानामा रहेको कमला नदीबाट ८० हजार घनमिटर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरी कमला–कञ्चनपुर सडकखण्ड निर्माणमा प्रयोग गर्न पाउने गरी दुई नगरपालिका र निर्माण व्यवसायीबीच आय ठेक्काको सम्झौता भएको छ ।
महालेखाको वार्षिक प्रतिवेदन बमोजिम कर्जन्हा नगरपालिकाबाट नापजाँच गर्दा निर्माण व्यवसायीले यो वर्ष १ लाख २६ हजार २२० घनमिटर ढुङ्गा गिट्टी बालुवा उत्खनन् गरेकोले तोकिएको भन्दा बढी ४६ हजार २२० घनमिटरको प्रति घनमिटर रू.१४१.१२ दरले हुने ६५ लाख २३ हजार असुल गर्नुपर्ने उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


