रौतहट गोलीकाण्डमा प्रयोग गरिएको बन्दुक ‘लाइसेन्स’ प्राप्त हतियार

रौतहट, ३ बैशाख । रौतहटको गढिमाईमा शनिबार एक जनाको ज्यान जानेगरी भएको गोली प्रहार घटनामा प्रयोग गरिएको बन्दुक लाइसेन्स प्राप्त रहेको पाइएको छ ।
रौतहटको गढीमाई नगरपालिका–८ मा शनिबार बाटो विस्तारका विषयमा दुई पक्षबीच झडप हुँदा गोली चलाइएको थियो । गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको छ भने स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव, निरञ्जन यादव र अर्का एकजना घाइते भएका छन् ।
घटनामा प्रयोग भएको बन्दुकको लाइसेन्स धनगढीमाई नगरपालिकाकै रामईश्वर यादवको नाउँमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
उनले भने, ‘झडपका क्रममा १२ बोरको बन्दुक प्रयोग गरिएको थियो । सो बन्दुकको लाइसेन्स स्थानीय रामईश्वर यादवको नाउँमा छ ।’
उनले गोली कसले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा शनिबार १२ बोरको बन्दुकबाट गोली प्रहार गरिएको थियो ।
एसपी बुढामगरका अनुसार गत मंसिर ४ को निर्वाचनका क्रममा समेत सो बन्दुक जिल्ला प्रहरी कार्यालयमा जम्मा गरिएको थियो । सो बन्दुकबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यता घटनामा संलग्न रहे/नरहेको विषयमा अनुसन्धानका लागि रौतहट प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत १६ जनालाई पक्राउ गरेको हो ।
बाटो विस्तार गर्ने क्रममा सडक वारिपारीका रामइश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएको थियो । दुबै पक्षले आफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विगत केही दिनदेखि विवाद गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


