धनुषामा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ, आरोपित छुटाउन नेताहरुको दबाब

जनकपुरधाम, ३ बैशाख । धनुषा प्रहरीले एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको कमला नगरपालिका वडा नम्बर–२ बस्ने ३५ बर्षीय छुटकुन भन्ने सिकेन्द्र यादव र सोही ठाउँ बस्ने २६ बर्षीय सुनिल यादव रहेका छन् ।
आफ्नो श्रीमानसँग मोटरसाईकलमा सवार भई घरतर्फ जाँदै गरेको अवस्थामा उनीहरुले सराबे टोलमा २५ बर्षीया एक महिलाको सल तानेर अभद्र व्यहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रमुख विश्वराज खडकाले श्रीमानसँग पछाडि बसेकी महिलालाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
सराबे टोलभन्दा पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत श्रीमानसँग मोटरसाइकलमा बसेकी महिलालाई सिकेन्द्र र सुनिलले मोटरसाईकल नजिक लगेर सल तानेको थियो । सल तानेपछि महिलाको घाँटीमा घाउसमेत लागेको छ ।
कमला नगरपालिका वडा नं. ३ बस्ने स्थानीय जयनाथ यादवकी श्रीमतिमाथि अभद्र व्यवहार गरेको हो । पेशाले इन्जिनियर रहेका जयनाथले श्रीमतिको बचाउ र उनीहरुको विरोध गर्दा उनलाई कुटपिट समेत गरिएको छ । महिलाको समेत लुगाकपडा च्यातिदिएको छ भने जयनाथको समेत कपडा च्यातेर कुटपिट गरिएको बताइएको छ ।
प्रत्यदर्शीहरुलाई अनुसार, सिकेन्द्र र सुनिलले महिलामाथि जबरदस्ती गरेका थिए । उनको नाकको नथिया र सिक्री समेत लुटेको आरोप लगाइएको छ ।
यता, महिलासँग अभद्र व्यवहार गरेका आरोपित छुटाउनका लागि स्थानीय, जिल्लास्तरका नेताहरुले दबाब दिन थालेका छन् । राजनीतिक व्यक्तिहरुको चर्को दबाबपछि पनि ईलाका प्रहरी कार्यालय खजुरीका इन्चार्ज राजकुमार भट्टले आरोपितलाई नछाडने अडान लिएपछि उनीहरु बाहिरिएका हुन् ।
स्थानीयका अनुसार, आरोपित दुवै जना जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ता हुन् । उनीहरुलाई छुटाउन जसपाका जिल्लास्तरीय नेताहरु सक्रिय भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


