जनकपुरधाम, ३ बैशाख । जनकपुरधामको परिक्रमा सडक यथाशीघ्र निर्माण हुनुपर्ने माग गर्दै स्थानीयबासीले ज्ञानकूप विद्यालयको पछाडि सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

उनीहरुले आइतबार भ्रमरपुराचोकदेखि बलबाटोल प्रहरी चौकी, ज्ञानकूप विद्यालय हुँदै, पिडारीको रेल्वे लिकसम्मको बाटो अवरुद्ध गरेका हुन् ।

केही महिना अगाडि तत्कालिन शहरी विकासमन्त्री मेटमनि चौधरीले परिक्रमा सडकको रेल्वे ट्रयाकदेखि भ्रमरपुरा चोकसम्म निर्माण गर्ने गरि शिलान्यास गरेपनि सडक ठेक्का लाग्न सकेको छैन ।

सडक निर्माणको काम चाडो पुरा गर्न माग गर्दै स्थानीयले आज विहान केही सकरिब एक घण्टा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । तत्काल सडक कालोपत्रे गरी धुलो र हिलोमुक्त बनाउनुपर्ने उनीहरुको माग छ ।

निर्माणाधीन सडकखण्ड लामो समयसम्म कालोपत्र नहुँदा व्यापार ब्यवसाय चौपट हुनुका साथै आवतजावतमा समेत कठिनाई भएको स्थानीयको भनाइ छ ।

स्थानीयबासीहरु धुलोका कारण विभिन्न स्वास्थ्य समस्याले पीडित हुन थालेपछि परिक्रमा सडक अवरुद्ध गरेको जनाएको छ ।