रौतहट, २ बैशाख । रौतहटमा दुई पक्षबिचको जग्गा विवादमा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर–८ धोबिनियामा जग्गा विवादका कारण दुई समूहबीच गोली हानाहान भएको हो ।

गोली लागेर स्थानीय रामकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए ।

अवैध हतियारले चलाइएको गोली लागेर उनको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएको डीएसपी यादवले बताए ।घाइते हुनेहरुमा स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव रहेका छन् ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको डीएसपी यादवले बताए ।

घइतेहरुको गरुडास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको र घटना सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।