जनकपुरधाम, २ बैशाख । न्यायिक पुनःस्थापनाको मागसहित जनकपुरधाममा हरवाचरवाहरुले आन्दोलन जारी राखेका छन् । हरवाचरवाहरुले आफ्नो अधिकार प्राप्तिका लागि मधेस प्रदेशमा अधिकार यात्रा जारी राखेका हुन् ।

तत्कालिन प्रधानमन्त्री शेरबबहादुर देउवाले २०७९ साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गरेका थिए ।हरवाचरवा प्रथा अन्त्य घोषणा गरेपनि कार्यान्वयनमा आउन नसक्दा हरवाचरवाहरु समस्यामै छन् ।

वर्षौंदेखि उत्पीडनमा परेका हरवाचरवाहरु प्रधानमन्त्रीको घोषणापछि पनि सो प्रथाबाट मुक्ति पाउन नसकेपछि आफ्नो माग सम्बोधन गराउनका लागि अधिकार यात्रा गरेका छन् । दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै मंगलवार जनकपुरधाम पुगेको थियो ।

यता वीरगञ्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, व्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आएर प्रदर्शन गरेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले जानकारी दिए ।

सरकारले हरवाचरवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनःस्थापनाका लागि लागत संकलन, सत्यापन, परिचयपत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएको थियो ।

यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरेपनि कार्यान्वयनमा आउन नसकेको हरवाचरवा अधिकारकर्मी सञ्जय महराले बताए । उनले प्रदेश सरकारले समस्या समाधान नगरे सिंहदरबार घेर्ने चेतावनी दिए ।