जनकपुरधाम, १ बैशाख । मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुटेपछि मृत्यु भएका २५ वर्षीय इन्जिनियर सतिश गोइतलाई मरणोपरान्त राष्ट्रपतिबाट विभुषित गरिएको छ ।

असोज ३ गते संविधान दिवसमा राष्ट्रपतिद्वारा घोषित विभूषण शुक्रबार स्वर्गीय इन्जिनिर गोइतलाई पनि प्रदान गरिएको हो ।

स्वर्गीय इन्जिनियर गोइतलाई मरणोपरान्त प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित गरिएको हो । उनकी आमा मञ्जु देवी यादवले विभुषण बुझेकी छन् ।

२०७७ असार ३० गते आयोजनाको सुरुङ परीक्षणका क्रममा १७ नम्वर गेट फुटेपछि बाहिर निस्केको पानीको बहावले इन्जिनियर गोइत चढेको गाडी चालकसहित बगेको थियो । तीन दिनपछि इन्जिनिर गोइतको शव फेला परेको थियो ।

सतीश आयोजनाका केही साथीहरूसँग मेलम्ची खानेपानीको मुहान निरीक्षण गर्न पुगेका थिए । एकाएक ड्याममा पानीको सतह बढ्न थालेपछि त्यसको निरीक्षण गर्नका लागि सतीशकै नेतृत्वमा टोली पठाइएको थियो ।